न्यायाधीशहरूले राजनीति गर्ने भए कोट खोलेर आउन रास्वपा सांसद बास्कोटाको चुनौती
काठमाडौं। रास्वपा सांसद समीक्षा बाँस्कोटाले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई राजनीति गर्न खोजिएको भए न्यायिक पोशाक (कोट) खोलेर आउन चुनौती दिएकी छिन्।
सोमबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै उनले सर्वोच्च अदालतमा रहेका न्यायाधीशहरूको प्रमुख दायित्व न्याय सम्पादन नै भएको बताइन्।
उनले न्यायपालिकाले सत्ता कब्जा गर्ने नियतका साथ काम गर्न थालेमा न्याय सम्पादन प्रभावित हुने टिप्पणी गरिन्। “यहाँ त सत्ता कब्जा गर्ने नियतले यदि न्यायपालिका त्यो लेभलमा उत्रिएर काम गर्न थाल्यो भने यसले न्याय सम्पादन गर्न सक्दैन,” उनले भनिन्।
सांसद बाँस्कोटाले न्यायाधीशहरूको मूल कर्तव्य न्याय सम्पादन भएको उल्लेख गर्दै अन्य विषयमा विषयान्तर हुन नहुने बताइन्।
त्यसैगरी उनले सर्वोच्च अदालतकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले रिट दर्ता सम्बन्धी दिएको आदेशप्रति प्रश्न उठाइन्। सर्वोच्च प्रशासनले दरपीठ गरेका रिटहरू दर्ता गर्न दिएको आदेशबारे उनले त्यसको न्यायोचिततामाथि प्रश्न गरेकी हुन्।
साथै, कानुन दिवसका अवसरमा मल्लले “लडाईं अझै बाँकी छ” भन्ने अभिव्यक्ति दिएकोप्रति पनि उनले आपत्ति जनाइन्। उनले सो अभिव्यक्तिको आशयबारे प्रश्न गर्दै न्यायाधीशहरूले राजनीतिक अभिव्यक्ति दिन नहुने टिप्पणी गरिन्।
बाँस्कोटाले भनिन्, “यदि राजनीति नै गर्न खोज्नुभएको हो भने कोट खोलेर आउनुहोला, हामी तयार छौं।”
२०८३ जेठ ४ गते सोमवार १७:५७ बजे प्रकाशित






















