रास्वपाको सदस्य संख्या ५ लाख २३ हजार नाघ्यो, महिलाको संख्या १७ प्रतिशत मात्रै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सदस्य संख्या ५ लाख २३ हजार ४६५ पुगेको छ।
चितवनमा जारी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रस्तुत गरेको साङ्गठनिक प्रतिवेदनअनुसार कुल सदस्यमध्ये पुरुषको संख्या ३ लाख ९६ हजार ७८९ रहेको छ। महिलाको संख्या ८९ हजार ८९६ रहेको प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै, ‘अन्य’ श्रेणीमा ५८८ जना सदस्य रहेका छन् भने लैंगिक विवरण नखुलाएका वा थाहा नभएका सदस्यको संख्या ३६ हजार १९२ रहेको छ।
प्रतिशतका आधारमा पुरुष सदस्य ७५.८ प्रतिशत, महिला १७.२ प्रतिशत, अन्य ०.१ प्रतिशत तथा लैंगिक विवरण नखुलाएकाहरू ६.९ प्रतिशत रहेका छन्।
चितवनमा जारी महाधिवेशनमा विभिन्न प्रतिवेदन प्रस्तुत गर्ने कार्य सम्पन्न भइसकेपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुने तयारी गरिएको छ।
महाधिवेशनबाट ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित हुनेछ। सातै प्रदेशबाट अनिवार्य रूपमा पाँच–पाँच जना प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ। प्रत्येक प्रदेशबाट निर्वाचित हुने पाँच जनामध्ये कम्तीमा दुई जना महिला हुनुपर्ने प्रावधान रहेको छ।
बाँकी ६४ केन्द्रीय सदस्य खुला प्रतिस्पर्धाबाट चयन गरिनेछ। केन्द्रीय सभापति र ९९ सदस्यीय केन्द्रीय समिति चयन भएपछि दोस्रो चरणमा अन्य पदाधिकारीहरूको निर्वाचन प्रक्रिया अघि बढाइने रास्वपाले जनाएको छ।
२०८३ असार ९ गते मंगलवार १७:४६ बजे प्रकाशित























