प्रतिनिधि सभाको बैठक स्थगित, आइतबार बस्ने
काठमाडौँ। व्यवस्थापिका संसद् अन्तर्गत प्रतिनिधि सभाको शनिबारका लागि तय भएको बैठक विशेष कारणवश सरेर आइतबार पुगेको छ। सङ्घीय संसद् सचिवालयले शुक्रबार सूचना जारी गर्दै बैठकको दिन र समय परिवर्तन भएको जनाएको हो।
सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचना अनुसार यसअघि असार १३ गते शनिबार बिहान ११ बजे बस्ने गरी निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक विशेष कारणवश उक्त समयमा बस्न नसक्ने भएको हो। त्यसैले प्रतिनिधि सभा नियमावली, २०८२ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले सभाको बैठक २०८२ असार १४ गते आइतबार बिहान ११ बजे बस्ने गरी पुनः निर्धारण गर्नुभएको छ।
संसद् सचिवालय अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय महाधिवेशन र विपक्षी दलले आफ्ना पूर्वनिर्धारित राजनीतिक कार्यक्रम रहेको भन्दै शनिबारको बैठक सार्न विशेष आग्रह गरेपछि सभामुखले संसद् नियमावली अनुसार बैठक आइतबारका लागि सार्नुभएको हो।
२०८३ असार १२ गते शुक्रवार १७:५४ बजे प्रकाशित























