कागमार्फत काठमाडौं उपत्यकामा बर्डफ्लु फैलियो, विशेष सतर्कता अपनाउन आग्रह
काठमाडौं। काठमाडौं उपत्यकामा कागमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) पुष्टि भएपछि संक्रमण विभिन्न क्षेत्रमा फैलिएको छ। पशु सेवा विभागले कागको आवतजावतका कारण रोग नियन्त्रण चुनौतीपूर्ण बनेको जनाएको छ।
पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार कुखुरामा देखिएको बर्डफ्लु नियन्त्रण गर्न सम्भव भए पनि कागमा देखिएको संक्रमण नियन्त्रण गर्न कठिन हुन्छ। उहाँले संक्रमित कागले एक स्थानबाट अर्को स्थानमा उडेर रोग फैलाउने भएकाले विशेष सतर्कता अपनाउनुपर्ने बताउनुभयो। सदर चिडियाखानासहित उपत्यकाका विभिन्न क्षेत्रमा कागमार्फत संक्रमण फैलिएको उहाँको भनाइ छ।
महानिर्देशक दाहालका अनुसार कागमा देखिएको संक्रमण करिब २१ दिनसम्म सक्रिय रहन सक्छ। मरेका काग र तिनको दिसाबाट समेत संक्रमण फैलिन सक्ने भएकाले त्यस्ता पन्छी भेटिएमा नछुन र सम्बन्धित निकायलाई जानकारी दिन आग्रह गरिएको छ।
हाल काठमाडौं उपत्यकाका तीनै जिल्लामा बर्डफ्लु देखिएको छ। विभागका अनुसार देशभरका ११ जिल्लाका १०० स्थानमा बर्डफ्लुको संक्रमण पुष्टि भएको छ।
उहाँका अनुसार उपत्यकामा कीर्तिपुर र कागेश्वरी मनोहरा नगरपालिकाबाहेक अधिकांश प्रभावित क्षेत्रमा संक्रमण नियन्त्रणमा ल्याइएको छ। बर्डफ्लु पन्छीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग भएकाले विभागले विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
बर्डफ्लु नियन्त्रणका लागि विभागले उपमहानिर्देशकको नेतृत्वमा रोग नियन्त्रण कक्ष स्थापना गरी संघ, प्रदेश तथा स्थानीय तहसँग समन्वय गरेर प्रभावित क्षेत्रमा नियन्त्रण अभियान सञ्चालन गरिरहेको जनाएको छ।
२०८३ असार १४ गते आइतवार १८:०७ बजे प्रकाशित























