ताल फुट्ने खतरा बढेपछि केरुङमा उद्धार कार्य स्थगित
काठमाडौँ । नेपाल–चीन सीमावर्ती क्षेत्र तिब्बतमा गएको भीषण पहिरोपछि बनेको कृत्रिम ताल फुट्ने खतरा बढेसँगै चिनियाँ अधिकारीहरूले उद्धार कार्य तत्कालका लागि स्थगित गरेका छन्।
गत बुधबार आएको पहिरो र लेदोसहितको बाढीले नेपाल–चीन सीमास्थित जिरोङ ९केरुङ० नाकामा ठूलो क्षति पुर्याएको थियो। पहिरोका कारण नदी थुनिएर बनेको कृत्रिम तालमा लगातारको वर्षाका कारण पानीको सतह बढ्दै गएको अधिकारीहरूले बताएका छन्।
तालको जलस्तर उच्च बिन्दुमा पुगेकाले जुनसुकै बेला फुट्न सक्ने जोखिम बढेको जनाइएको छ। ताल फुटेमा तल्लो तटीय क्षेत्रमा थप ठूलो क्षति हुन सक्ने भन्दै चिनियाँ अधिकारीहरूले उद्धारकर्मीलाई सुरक्षित स्थानमा रहन निर्देशन दिएका छन्।
चिनियाँ राज्य नियन्त्रित सञ्चारमाध्यमका अनुसार जोखिम बढेपछि प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य तत्कालका लागि रोकिएको छ।
बीबीसीका अनुसार यस प्राकृतिक विपत्तिमा परी तिब्बततर्फ ५५० भन्दा बढी मानिस बेपत्ता भएका छन्। बेपत्ता हुनेमा २६० जना विदेशी पर्यटक तथा तीर्थयात्री रहेको विवरण प्राप्त भएको छ। तीमध्ये कैलाश मानसरोवर दर्शनका लागि पुगेका तीर्थयात्रीको संख्या ठूलो रहेको बताइएको छ।
अहिले चिनियाँ अधिकारीहरूले जिरोङ नाकाभन्दा माथिल्लो क्षेत्रमा बढिरहेको पानीको सतहलाई नजिकबाट निगरानी गरिरहेका छन्। भारी वर्षा जारी रहेकाले आगामी केही दिनमा बाढीको जोखिम थप बढ्न सक्ने अनुमान गरिएको छ।
थप क्षति रोक्न तथा मानिसको सुरक्षा सुनिश्चित गर्न प्रभावित क्षेत्रमा आवतजावतमा समेत कडाइ गरिएको छ।
२०८३ भदौ १२ गते शुक्रवार ११:५६ बजे प्रकाशित























