काठमाडौँमा ग्यास अभाव हटाउन दैनिक ३५ हजार सिलिन्डर पठाइँदै
नारायणगढ । पृथ्वी राजमार्गका विभिन्न खण्डमा सडक अवरुद्ध भएपछि काठमाडौँमा देखिएको ग्यास अभाव हटाउन उपत्यकाबाहिरका जिल्लाबाट दैनिक औसत ३५ हजार सिलिन्डर पठाउन थालिएको छ।
नेपाल एलपी ग्यास उद्योग सङ्घका अनुसार चितवन, मकवानपुर, बारा, पर्सा, नवलपुरलगायतका जिल्लामा ग्यास भरेर वैकल्पिक मार्ग हुँदै काठमाडौँ पठाइएको हो। बिहीबार २४ हजार, शुक्रबार ३४ हजार र शनिबार करिब ३५ हजार सिलिन्डर उपत्यका पठाइएको सङ्घले जनाएको छ।
नेपाल आयल निगमले उपत्यकाबाहिरका सहज स्थानमा सिलिन्डर भरेर काठमाडौँ लैजान अनुमति दिएपछि वैकल्पिक आपूर्ति व्यवस्था सुरु गरिएको हो। काठमाडौँबाट खाली सिलिन्डर ट्रकमार्फत सम्बन्धित उद्योगमा पुर्याएर ग्यास भरेपछि पुनः उपत्यका ल्याउने गरिएको छ।
सङ्घका अनुसार चितवन, नवलपुर, बारा, पर्सा र हेटौँडाका विभिन्न उद्योगबाट ग्यास भरेर आपूर्ति भइरहेको छ। साल्ट ट्रेडिङ कर्पोरेसनले पनि निजी ग्यास उद्योगसँग सहकार्य गरी आफ्ना सिलिन्डरमा ग्यास भरेर काठमाडौँ पठाइरहेको जनाएको छ।
सामान्य अवस्थामा काठमाडौँ उपत्यकामा दैनिक करिब ४० हजार सिलिन्डर ग्यास खपत हुने गर्छ। निगमले वैकल्पिक माध्यमबाट पठाइने ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार १६५ रुपैयाँ ३८ पैसा तोकेको छ।
२०८३ भदौ २१ गते आइतवार १२:५७ बजे प्रकाशित























