त्रिशूली नदी किनारमा ७८ शव तथा मानव अङ्ग फेला
गोरखा। रसुवा हुँदै आएको बाढीपछि त्रिशूली नदीमा बगेका ७८ वटा शव तथा मानव अङ्ग गोरखाका विभिन्न स्थानमा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार भदौ १० गतेदेखि मंगलबार बिहान ११ बजेसम्म नदी किनारमा फेला परेका ती शवमध्ये ६६ वटाको व्यवस्थापन गरिएको छ। ६ वटा शव परिवारलाई जिम्मा लगाइएको छ भने पहिचान हुन सक्ने ६ वटा शव प्रदेश अस्पताल गोरखामा राखिएको छ।
गण्डकी र सहिद लखन गाउँपालिकाका त्रिशूली किनारमा प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय तथा जनप्रतिनिधिको टोलीले निरन्तर खोज तथा उद्धार गरिरहेको प्रमुख जिल्ला अधिकारी धमेन्द्र मिश्रले बताउनुभयो।
गण्डकी गाउँपालिकाका धवादीघाट, भुम्लिचोक, बुट्टार, ठेउवाटार, ज्यामिरेघाट तथा सहिद लखन गाउँपालिका–४ सिलिङटार क्षेत्रमा शव फेला परेका हुन्। प्रहरीले शव तथा मानव अङ्ग सुरक्षित रूपमा सङ्कलन गरी थप अनुसन्धान गरिरहेको जनाएको छ।
२०८३ भदौ ३० गते मंगलवार १५:१६ बजे प्रकाशित






















