सांसदलाई प्रधानमन्त्री शाहको आग्रह – विज्ञता मुलुक विकासमा लगाउनुहोस्
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई आफ्नो ज्ञान, सीप र अनुभव मुलुकको विकासमा अधिकतम उपयोग गर्न आग्रह गरेका छन् ।
बुधबार सिंहदरबारमा प्रतिनिधिसभाका प्राविधिक पृष्ठभूमिका सांसदसँग छलफल गर्दै शाहले राजनीतिक विषयभन्दा दीर्घकालीन नीति, नयाँ विचार र विकासका विषयमा केन्द्रित हुन सुझाव दिए ।
‘तपाईंहरू प्राविधिक विषयमा जानकार हुनुहुन्छ र नीति निर्माण गर्ने ठाउँमा हुनुहुन्छ । देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुहोस्,’ उनले भने ।
शाहले पार्टी राजनीतिसँगै सांसदहरूले आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई पनि प्राथमिकता दिनुपर्ने बताए । निर्वाचन तथा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय भए पनि अन्य समयमा देश विकासका प्राविधिक विषयमा केन्द्रित हुन उनले आग्रह गरे ।
२०८३ असोज १४ गते बुधवार १६:०७ बजे प्रकाशित























