"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

भोटेकोशी–त्रिशूली बाढी : ऊर्जा क्षेत्र पुनर्निर्माणमा ३ खर्ब ९० अर्ब लाग्ने

काठमाडौँ, असोज १४ गते । भोटेकोशी र त्रिशूली बाढीबाट क्षतिग्रस्त ऊर्जा क्षेत्रको पुनरुत्थान तथा पुनर्निर्माणका लागि करिब तीन खर्ब ९० अर्ब रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार बाढीबाट जलविद्युत् आयोजना, प्रसारण तथा वितरण संरचनामा ठूलो क्षति पुगेको छ। मन्त्रालयका सहसचिव सुशीलचन्द्र आचार्यका अनुसार प्रभावित संरचनाको लगानी मूल्य करिब एक खर्ब २४ अर्ब रुपैयाँ भए पनि पुनर्निर्माण गर्दा संरचनागत परिवर्तन, मूल्यवृद्धि र नदीको सतह बढेकाले लागत बढ्ने देखिएको हो।

बाढीबाट करिब ४३० मेगावाट उत्पादन क्षमताका आयोजना प्रभावित भएका छन्। निर्माणाधीनतर्फ पनि १३ आयोजना प्रभावित भएको र ती आयोजनाको कुल क्षमता ७५९ मेगावाट रहेको मन्त्रालयले जनाएको छ। त्यसमध्ये ६ आयोजना करिब ५०८ मेगावाट क्षमताका निर्माणाधीन थिए।

प्रसारणतर्फ त्रिशूली–३ बी हब सबस्टेसनमा ठूलो क्षति पुगेपछि उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न समस्या भएको छ। सरकारी द्रुत क्षति तथा आवश्यकता आकलनअनुसार ऊर्जा तथा ग्रिड प्रणाली पूर्ववत् बनाउन ३ खर्ब ९० अर्ब ६२ करोड ३० लाख ४० हजार रुपैयाँ आवश्यक पर्ने देखिएको छ।

मन्त्रालयले जलवायु परिवर्तनका कारण अतिवृष्टि, बाढीपहिरो, हिमताल तथा हिमनदीजन्य जोखिम बढ्दै गएकाले ऊर्जा पूर्वाधारमा थप चुनौती देखिएको जनाएको छ। यस्ता विपद्का कारण दुर्गम क्षेत्रमा रहेका लघु तथा साना जलविद्युत् आयोजनामा समेत क्षति पुगिरहेको जनाइएको छ।

जलवायुजन्य जोखिमसँगै सरकारले विद्युत् उत्पादन विस्तारको लक्ष्य पनि अघि बढाएको छ। एनडिसी–३ अन्तर्गत सन् २०३० सम्म १४ हजार र २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन क्षमता पुर्‍याउने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ।

२०८३ असोज १४ गते बुधवार १६:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु