संसद पुनस्र्थापनाको विषयमा बोल्दा एमालेसँग कुरा मिल्यो होला, आपत्ति मान्न हुन्न : सभामुख घिमिरे
विराटनगर। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आगजनीबाट ध्वस्त भएको कोशी प्रदेशसभा भवन परिसरको मङ्गलबार निरीक्षण गरेको छन् । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते प्रदेशसभा भवनमा आगजनी गरिएको थियो ।
निरीक्षणका क्रममा सभामुख घिमिरेले कोशी प्रदेशसभामा भएको क्षति अपूरणीय भएको भन्दै दु:ख व्यक्त गरे। उनले प्रदेशसभा भवनको पुनर्निर्माण तथा सुरक्षामा विशेष ध्यान दिइनुपर्ने बताए ।
जेनजी आन्दोलनको नाममा कोशी प्रदेशसभामा ठुलो क्षति भएको र सचिवालयको मुख्य भवनलगायत महत्त्वपूर्ण दस्तावेजहरु सबै नष्ट भएको कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले सभामुख घिमिरेलाई जानकारी गराए । सचिवालयको तर्फबाट तत्काल पुननिर्माण हुने सम्भावना नभएकै कारण हाल प्रदेशसभा सचिवालय कटहरी गाउँपालिकाको तरकारी बजारमा सारिएको जानकारी गराइएको थियो । सभामुख घिमिरेले नयाँ सारिएको प्रदेशसभास्थलको पनि अनुगमन निरीक्षण गरे।
यसैबिच सभामुख घिमिरेले संविधानत: संसद विघटन गर्ने र संसद बाहिरबाट प्रधानमन्त्री बनाउने ठाउँ नरहेको दोहोर्याए। उनले वर्तमान राजनीतिक घटनाक्रम न्यायालयमा पुगेको उल्लेख गर्दै त्यहाँबाट सही निरूपण हुने र संसद पुनस्र्थापना हुने विश्वास व्यक्त गरे। उनले भने, ‘‘संविधानसम्मत संसद भङ्ग गर्ने गरीको ठाउँ छैन र संसदभन्दा बाहिरबाट प्रधानमन्त्री बनाउने पनि ठाउँ छैन । त्यसले गर्दाखेरि विषय न्यायमा गएको छ । हामी आशावादी छौँ, न्याय ठीक ढङ्गबाट हुँदाखेरि संसद पुनस्र्थापना भएर जान्छ ।’’
संसद पुनस्र्थापनाको विषयमा सभामुखले पनि नेकपा एमालेकै भाषा बोलिरहेको भनि आलोचना हुने गरेको भन्दै सोधिएको प्रश्नको जवाफमा उनले सत्य कुरा बोल्दा कसैसँग मिल्न गएमा आपत्ति मान्न नहुने बताए। उनले भने, ‘‘कसको भाषा बोल्यो भन्ने कुरा होइन, के बोल्यो भन्ने मुख्य कुरा हो । सही कुरा बोल्दा त्यो कसैसँग मिल्न पनि सक्छ, नमिल्न पनि सक्छ । कुरा मिल्दैमा आपत्ति हुनुपर्ने केही छैन ।’’
२०८२ मंसिर ९ गते मंगलवार १६:५५ बजे प्रकाशित




















