निजामती कर्मचारीलाई राजनीतिक गतिविधिबाट टाढा रहन सरकारको कडा निर्देशन
काठमाडौं । सरकारले निजामती कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दल वा भ्रातृ संगठनमा आबद्ध नहुन कडा निर्देशन जारी गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै राजनीतिक गतिविधिमा संलग्न हुने कर्मचारीलाई सेवाबाटै हटाउन सकिने चेतावनी दिएको हो।
मन्त्रालयले नेपालको संविधान र प्रचलित कानुनअनुसार निजामती सेवालाई राजनीतिक रूपमा तटस्थ, निष्पक्ष, व्यावसायिक र उत्तरदायी सेवाका रूपमा परिकल्पना गरिएको स्पष्ट पारेको छ।
निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (१) को खण्ड (ङ) उद्धृत गर्दै मन्त्रालयले राजनीतिमा भाग लिने कर्मचारीलाई ‘भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिने’ कानुनी व्यवस्था रहेको स्मरण गराएको छ।
मन्त्रालयले सम्पूर्ण निजामती कर्मचारीलाई प्रचलित कानुनबमोजिम अनुशासन र आचरणसम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न निर्देशन दिएको छ।
सूचनामा कुनै पनि राजनीतिक दलको सदस्यता लिने, भ्रातृ वा जनवर्गीय संगठनमा आबद्ध हुने, राजनीतिक गतिविधिमा सक्रिय हुने वा राजनीतिक पदका लागि हुने निर्वाचनमा उम्मेदवार बन्ने कर्मचारीमाथि कडा कारबाही गरिने चेतावनी दिइएको छ।
शाखा अधिकृत विवेक विडारीद्वारा हस्ताक्षरित सूचनामा निजामती कर्मचारीहरूको राजनीतिक संलग्नताले सार्वजनिक सेवा प्रवाहमा नकारात्मक असर पर्ने उल्लेख गरिएको छ।
२०८३ वैशाख ३० गते बुधवार १८:३५ बजे प्रकाशित






















