"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

श्रम शोषण भएको भन्दै माइतीघरमा चिकित्सकहरूको प्रदर्शन

काठमाडौं । विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत तथा आवासीय चिकित्सकहरूले आफूहरूमाथि श्रम शोषण भएको भन्दै काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्।

‘युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषणविरुद्धको संघर्ष समिति’ गठन गरी उनीहरूले शनिबार प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले प्रशिक्षार्थी चिकित्सक (इन्टर्न तथा आवासीय चिकित्सक) लाई श्रम ऐन, २०७४ अनुसार कामको समय निर्धारण गर्नुपर्ने माग गरेका छन्।

उनीहरूले इन्टर्न तथा आवासीय चिकित्सकको ड्युटी समय दैनिक अधिकतम १२ घण्टा र साप्ताहिक ७२ घण्टाभन्दा बढी हुन नहुने तथा हप्तामा कम्तीमा एक दिन अनिवार्य बिदाको व्यवस्था लागू गर्नुपर्ने माग गरेका छन्।

त्यसैगरी, हप्तामा ४८ घण्टाभन्दा बढी काम गराइएमा श्रम ऐनअनुसार अतिरिक्त समय(ओभरटाइम) भत्ता उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ।

प्रदर्शनकारी चिकित्सकहरूले नेपाल सरकारले बजेट वक्तव्यमार्फत वृद्धि गरेको तलब तथा विगतमा भएको सहमतिअनुसार आवासीय चिकित्सकलाई अधिकृत आठौँ तहसरहको तलब सुविधा तत्काल कार्यान्वयन गर्नुपर्ने बताएका छन्।

यस्तै, एमबीबीएस र बीडीएस अध्ययन पूरा गरेपछि एमडी, एमएस तथा एमडीएस अध्ययनका लागि राखिएको एक वर्षको अनिवार्य कार्यअनुभवको प्रावधान हटाउनुपर्ने माग पनि उनीहरूले अघि सारेका छन्।

चिकित्सकहरूले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएका छन्।

२०८३ साउन २ गते शनिवार १७:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु