देउवाको चेतावनी: यीनीहरूलाई भोलिदेखि हामीले देखाउँछौं, राजा ज्ञानेन्द्रले त सकेन, अरूले सक्छ ?
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई दबाबमा पार्न विगतमा विभिन्न प्रयास भए पनि सफल हुन नसकेको दाबी गरेका छन्। उनले तत्कालीन राजा ज्ञानेन्द्र शाहले समेत आफूलाई हटाउन नसकेको भन्दै अहिलेका अन्य शक्तिले पनि आफूलाई कमजोर पार्न नसक्ने टिप्पणी गरेका हुन्।
बिहीबार स्वदेश फर्किएपछि कांग्रेसको संस्थापनइतर पक्षको चुनदेवीस्थित सम्पर्क कार्यालयमा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई सम्बोधन गर्दै देउवाले आफूविरुद्ध विभिन्न निकायमा मुद्दा चलाउने प्रयास भएको दाबी गरे।
आफू र पत्नी आरजु राणा देउवाविरुद्ध अन्तर्राष्ट्रिय तथा नेपालको अदालतमा मुद्दा लगाउने प्रयास भएको उल्लेख गर्दै देउवाले ती प्रयासबाट आफूहरू पछि नहटेको बताए।
‘मलाई अन्तर्राष्ट्रिय क्रिमिनल कोर्टमा समेत मुद्दा हाले । त्यसपछि कोर्टले कुनै पनि हालतमा हामी शेरबहादुरलाई पक्राउ गर्दैनौं, पक्रेर कामै छैन । उसको वाइफ र उसलाई पक्राउ गर्दैनौं भन्यो,’ उनले भने।
नेपालमै समेत आफू र पत्नी आरजुलाई पक्राउ नगर्न अदालतले आदेश दिएको देउवाको दाबी छ। अदालतको आदेश हुँदाहुँदै आफूहरूमाथि विभिन्न किसिमका दबाब सिर्जना गरिएको उनले आरोप लगाए।
देउवाले आफू र पत्नीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान तथा मुद्दा चलाउने प्रयाससमेत पटक–पटक भएको बताए। तर, ती अनुसन्धानबाट कुनै आधार फेला नपरेको उनको दाबी छ।
‘एकपल्ट सम्पत्ति शुद्धीकरण आयो । केही पनि छैन भन्यो । दोस्रोपल्ट आयो, केही छैन भन्यो,’ देउवाले भने।
आफूविरुद्ध जस्तोसुकै प्रयास भए पनि देशमा जनता र अदालत रहेकाले सत्य–तथ्यबारे सबै जानकार रहेको देउवाको भनाइ थियो।
‘यो देशको जनता छ, यो देशको अदालत छ । सबले जानेको छ । बुझेको छ,’ उनले भने।
सम्बोधनका क्रममा देउवाले तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकालको प्रसंगसमेत उठाए। आफूलाई दबाबमा पार्ने प्रयास तत्कालीन राजाबाट समेत सफल नभएको भन्दै उनले अहिलेका शक्तिले पनि आफूलाई परास्त गर्न नसक्ने दाबी गरे।
‘यीनीहरूलाई भोलिदेखि हामीले देखाएर छोड्छौं । राजा ज्ञानेन्द्रले त सकेन, अरूले सक्छ यहाँ ?’ देउवाले प्रश्न गरे।
२०८३ साउन २८ गते बिहीवार १७:१४ बजे प्रकाशित























