भारतमा भारी वर्षापछि बाढी, उत्तर प्रदेशमा ६२ जनाको मृत्यु
badhi
लखनऊ । भारतको उत्तरी राज्य उत्तर प्रदेशमा तीन दिनदेखि परेको भारी वर्षापछि आएको बाढीमा परी कम्तीमा ६२ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्। बाढीका कारण राज्यका विभिन्न क्षेत्रमा एक हजारभन्दा बढी घरमा क्षति पुगेको राज्य सरकारले जनाएको छ।
भारी वर्षापछि लखनऊसहित राज्यका विभिन्न जिल्लामा बाढीको अवस्था सिर्जना भएपछि केही क्षेत्रमा विद्यालय बन्द गरिएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गरी मानिसहरूलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ।
स्थानीय प्रशासनले जलमग्न क्षेत्रमा अनावश्यक यात्रा नगर्न तथा तीव्र गतिमा बग्ने नदी, खोला र नालाबाट टाढा रहन सर्वसाधारणलाई आग्रह गरेको छ।
मौसमविद्का अनुसार बङ्गालको खाडीमा विकसित मौसम प्रणाली कमजोर हुँदै गएकाले सोमबारदेखि वर्षाको मात्रा घट्ने अपेक्षा गरिएको छ। यद्यपि, मंगलबारसम्म उत्तर प्रदेशका पूर्वी र पश्चिमी भागमा हल्का वर्षा जारी रहन सक्ने बताइएको छ।
यसैबीच, भारतको पूर्वी राज्य ओडिसामा पनि बाढीको प्रभाव परेको छ। अधिकारीहरूका अनुसार बाढी प्रभावित क्षेत्रबाट ७५ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
२०८३ असोज १२ गते सोमवार १३:०१ बजे प्रकाशित























