"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

शुक्रबारसम्म मौसम अस्थिर, हावाहुरी र वर्षाको सम्भावना

काठमाडौँ, असोज २१ गते । मनसुन बाहिरिने क्रमसँगै पश्चिमी वायुको प्रभाव देखिएपछि देशभरको मौसम अस्थिर बनेको छ। मौसमविद्का अनुसार शुक्रबारसम्म विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र वर्षा हुने सम्भावना छ।
आज काठमाडौं उपत्यकामा मध्यम वर्षाको सम्भावना छ भने बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुनसक्ने मौसमविद् रोजन लामिछानेले बताउनुभयो। लुम्बिनी, सुदूरपश्चिम, बागमती, गण्डकी र कर्णालीका केही पहाडी तथा तराई क्षेत्रमा पनि भारी वर्षाको सम्भावना छ।
चितवन, पाल्पा र कैलाली आसपासमा पछिल्लो केही घण्टामा भारी वर्षा भएको छ। नवलपुर, तनहुँ, गोरखा, अर्घाखाँची र रूपन्देहीलगायत क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।
मौसमविद् लामिछानेका अनुसार बिहीबार केही सुधार देखिए पनि शुक्रबारसम्म मौसमी गतिविधि दोहोरिन सक्छ। वर्षा लामो समय निरन्तरभन्दा छोटो समयमा तीव्र हुने सम्भावना रहेकाले यात्रा तथा बाहिरी काममा निस्कँदा तत्कालीन मौसम सूचना हेर्न आग्रह गरिएको छ। शनिबारदेखि भने मौसममा क्रमिक सुधार हुने अनुमान छ।

२०८३ असोज २१ गते बुधवार १२:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु