जलन उपचारमा नयाँ मापदण्ड, चार तहमा सेवा वर्गीकरण
काठमाडौं । सरकारले देशभर जलन भएका बिरामीको उपचारमा एकरूपता कायम गर्न ‘जलनसम्बन्धी राष्ट्रिय उपचार सेवा मापदण्ड’ तयार गरेको छ।
स्वास्थ्य सेवा विभागअन्तर्गत उपचारात्मक सेवा महाशाखाले तयार गरेको मापदण्डले प्रारम्भिक उपचारदेखि विशेषज्ञ उपचार, रेफरल, पुनर्स्थापना र स्वास्थ्यकर्मीको तालिमसम्मका विषय समेटेको छ।
मापदण्डअनुसार जलन उपचार सेवालाई चार तहमा वर्गीकरण गरिएको छ। लेभल–१ मा आधारभूत, लेभल–२ मा सामान्य, लेभल–३ मा विशेषज्ञ र लेभल–४ मा सुपर–विशेषज्ञ जलन सेवा रहने व्यवस्था छ।
जलन भएका बिरामीलाई प्राथमिक उपचारका क्रममा सम्भव भएसम्म चिसो बगिरहेको पानीले ३० मिनेटसम्म जलन भएको भाग चिस्याउन र त्यसपछि सफा कपडा वा ड्रेसिङले ढाक्न सुझाव दिइएको छ। जलनमा टुथपेस्ट, माटो, घिउ, तेल, बटर, जडीबुटीको लेप तथा बरफ प्रयोग नगर्न मापदण्डले स्पष्ट गरेको छ।
त्यस्तै, संक्रमणको स्पष्ट प्रमाणबिना प्रणालीगत एन्टिबायोटिक प्रयोग नगर्न र आवश्यकताअनुसार मात्र चिकित्सकीय मूल्यांकनका आधारमा प्रयोग गर्न भनिएको छ। मापदण्डले उपचार, शल्यक्रिया, संक्रमण नियन्त्रण, पोषण, पुनर्स्थापना, मनोसामाजिक सहयोग र रेफरल प्रणालीलाई समेत एकीकृत गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
२०८३ असोज २१ गते बुधवार १३:११ बजे प्रकाशित























